मह जोडी हलिउडको फिल्ममा अभिनय गर्दै !

Admin | 06:54 |


सन्तोष पोखरेल, पोखरा, मंसिर २५ – लामो समयदेखि नेपाली दर्शकलाई हँसाउँदै आएका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) अंग्रेजी चलचित्र (हलिउड) मा अभिनय गरिरहेका छन्। महले ‘सोल्ड’ नामक अंग्रेजी चलचित्रमा पहिलोपटक अभिनय गर्ने अवसर पाएका हुन्। मह जोडी यतिबेला पोखरानजिकै ह्याङजाकोटमा ‘सोल्ड’ को सुटिङमा व्यस्त छन्।
अमेरिकी निर्देशक जेफ्री ब्राउन निर्देशन रहेको यस चलचित्र भारतीय सहरमा बेचिएकी नेपाली चेलीको पीडामा आधारित छ। नेपाली चेली बेचिएर भारतको कोठीसम्म पुर्‍याइँदा र उनीहरुले त्यहाँ भोग्नुपरेको पीडा चलचित्रको मुख्य कथावस्तु हो।
जोसेफ वङको कथा रहेको चलचित्रमा नेपाली, भारतीय र अमेरिकी कलाकारले अभिनय गर्दैछन्। नेपालबाट मह र बलिउडबाट सीमा विश्वास, परमब्रत चटर्जीलगायतले अभिनय गरेका छन्। अमेरिकी कलाकार तिलोतमा सोमे पनि पर्दामा उतारिनेछन्।
‘सोल्ड’ का निर्माता जेन चार्ल्स हुन्। ब्राउन विभिन्न टेलिसिरियल र चलचित्र निर्देशन गरिसकेका चर्चित निर्देशक हुन्। मोलिज पिलग्रिम र ड्रिम विथ दि फिसेस उनले निर्देशन गरेका चर्चित चलचित्र हुन्। छोटो फिल्म मोलिज पिलग्रिमले सन् १९८६ को ओस्कार अवार्ड जितेको थियो।

पहिलोपटक अंग्रेजी भाषाको ठूलो पर्दाको चलचित्रमा अभिनय गर्न पाएका महले नेपाली चेलीको कथावस्तुले आफूहरुलाई अभिनय गर्न उत्प्रेरित गरेको बताए।
‘वास्तविक कथामा आधारित चलचित्र भएकाले हामीले अभिनय गरेका हौं, हाम्रो भूमिका सानो भए पनि यसले दिने सन्देश महŒवपूर्ण छ,’ छायांकनका लागि यहाँ आएका हरिवंशले नागरिकसँग भने, ‘सामाजिक परिवर्तन ल्याउने कथावस्तु भएकाले अभिनय गर्न सान्दर्भिक ठान्यौं।’ अंग्रेजी भाषाको पहिलो काम भए पनि यसलाई ठूलो प्रचार गर्न नचाहेको उनले बताए।
‘सद्भाव मेन्टेन गर्नमात्र यो फिल्ममा अभिनय गरेका हौं,’ आचार्यले भने, ‘यस्ता कथावस्तुमा आधारित थुप्रै नेपाली फिल्ममा यसअघि पनि पटक-पटक अभिनय गरेका थियौं, तर विदेशी फिल्ममा पहिलोपटक अभिनय गर्दैछौं।’
नेपालमा सामाजिक परिवर्तनको खाँचो रहेकाले यस्ता कथावस्तुका विभिन्न भाषामा चलचित्र बनिरहनुपर्ने उनको भनाइ छ। सोल्डमा हरिवंश नेपालका ग्रामीण क्षेत्रमा तिहारको देउसीभैलोमा रमाउँदाको दृश्यमा देखिनेछन्। मदन भने भारतमा बेचिएकी नेपाली चेलीको बुबाको भूमिकामा छन्। ‘सोझो बाबुलाई झुक्याएर दलालले कसरी छोरीलाई भारतसम्म लगेर बेच्न सक्छ भन्ने भूमिकामा छु,’ उनले भने, ‘राम्रो जागिरको प्रलोभनमा दलालले फसाएको कथामा बाबुको भूमिकामा छु।’
पहिलोपटक अंग्रंेजी चलचित्रमा अभिनय गर्न पाएकोमा दुवै कलाकार खुसी छन्। आफूहरुको यो भूमिकालाई ठूलो नबनाइदिन उनीहरुको विशेष आग्रह छ। ‘नेपाली चेलीको विषयवस्तुले मात्र हामीलाई यो फिल्ममा तानेको हो, नत्र हामी अंग्रेजी फिल्ममा अभिनय नगर्न पनि सक्थ्यौं,’ हरिवंशले भने, ‘पछि के हुन्छ भन्न सकिँदैन।’
अर्का कलाकार मदनकृष्णले भने अंग्रेजी भाषामा ‘डाइलग’ गर्नुपर्दा रमाइलो लागेको बताए। ‘मलाई त अंग्रेजीमा डाइलग गर्नुपर्दा खुब रमाइलो लागेको छ,’ उनले भने।

नेपाल र भारतमा मात्र छायांकन हुने ‘सोल्ड’ मार्फत नेपाली चेलीबेटीमाथि भारतमा भएको अत्याचारको दर्दनाक अवस्था संसारभर फैलिने भएकाले आफूहरुले सहभागिता जनाएको उनीहरुको भनाइ छ। ‘झुक्याएर भारतको कोठीमा पुर्‍याइएका नेपाली चेलीको मानवअधिकार हनन् भएको छ, यो फिल्ममार्फत त्यस्ता काम रोक्न सघाउ पुग्नेछ,’ हरिवंशले भने, ‘अवैध धन्दा हुने कोठी बन्द गर्न भारतलाई संसारले दबाब दिनेछ।’
हलिउडमा पहिलो अनुभव बटुलिरहेका कलाकारद्वयले नेपाली फिल्म क्षेत्र पनि अरुभन्दा कम नरहेको बुझेका छन्। हलिउडमा प्रविधि राम्रो भए पनि छायांकनको अरु सबै शैली एकै रहेको हरिवंश बताउँछन्। ‘हामीले त हलिउडमा धेरै नै राम्रो हुन्छ होला भन्ने अनुमान गरेका थियौं, हाम्रोमा भन्दा उनीहरुसँग अलि राम्र्रा उपकरण रहेछन्, अरु केही फरक रहेनछ,’ उनले भने।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!