म दर्शकचाहिँ हुँ तर नायक बन्ने रहर छैन- गगन थापा

Admin | 16:51 |


-गगन थापा, नेता, नेपाली कांग्रेस
तपाईंको बुझाइमा चलचित्र के हो ?
चलचित्र समाजको ऐना हो । संसारका केही चलचित्रका कथा प्राय: मिल्नसक्छ । फरक देखाउने भनेका त्यसमा बुनिने सामाजिक विषयवस्तु, मौलिकता र पात्रको प्रस्तुतिले हो । त्यसैले नै दर्शकलाई बाँध्न सक्छ ।
नेपाली चलचत्रि कत्तिको हेर्नुहुन्छ ?
लुट हेरेँ । हाइवेको पनि चर्चा धेरै छ तर हेर्न भ्याएको छैन । मैले हेरेकामध्ये लुटले नेपाली चलचित्र क्षेत्रमा केही सकारात्मक संकेत देखाएको छ । यस्ता चलचित्र बने नेपाली सिने उद्योगले उन्नति गर्ने आश गर्न सकिन्छ । त्यसअघि प्रेमपिण्ड, वसन्ती चलचित्र पनि राम्रा लागे ।

चलचित्रको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रलाई दुई कोणबाट हेरेको छु । अहिले चलचित्रमा जुन विविधता देखिएको छ, यो सकारात्मक हो । तर, विभिन्न विदेशी चलचित्र हेर्ने अनि निर्माताले आफ्ना चलचित्रमा नेपाली संस्कृति र मौलिकताबारे पटक्कै ध्यान नदिने परिपाटि पनि छ । यसले चाहिँ चलचित्र क्षेत्रलाई केही फाइदा पुर्‍याउँदैन जस्तो लाग्छ ।
दर्शक घट्दै गएका छन् भनिन्छ नि ?
चलचित्र होस् वा राजनीति, समयसापेक्ष हुनुपर्छ । समाज जसरी जान्छ, चलचित्र पनि त्यसरी नै अघि बढ्नुपर्छ । जुन चलचित्रमा दर्शकले आफ्नै कथा देख्छन्, आफ्नोपन अनुभूति गर्न सक्छन्, त्यही चलचित्रलाई मन पराउँछन् । यो नहुने हो भने दर्शक स्वत: घट्न थाल्छन् ।
चलचित्रमा लगानी गर्नु बालुवामा पानी हालेसरह हो भन्ने पनि छन् नि ?
मलाई त्यस्तो पनि लाग्दैन, किनभने जुन बिजनेसमा घाटा हुन्छ । त्यसमा कसैले पनि लगानी गर्दैन । म नाम त लिन चाहन्न तर एउटा मात्र चलचित्र बनाउँछु भनेर छिरकाले चार–पाँच चलचित्र लगातार बनाएको पनि देखिएको छ । कतिपयले चाहिँ दर्शकको चाहना र प्रस्तुतिमा ध्यान नदिँदा चलचित्र नराम्रा बनेका हुन् ।
चलचित्रमा देखाइने राजनीति र देशको राजनीति कत्तिको मिल्दोजुल्दो देख्नुहुन्छ ?
त्यही त अस्वाभाविक लाग्छ । चलचित्रमा देखाइने राजनीति विषयवस्तुका हिसाबले ठीक छ । तर, राजनीतिभित्र पनि दर्शकले जे भोगे/देखेका छन्, त्यसलाई चाहिँ चलचित्रले चित्तबुझ्दो गरी देखाउनसकेको लाग्दैन । प्रस्तुति राम्रो हँुदैन । यहाँ चलचित्रको प्रस्तुतिभन्दा कथा, कलाकार र प्रविधिमा जोड दिइन्छ ।
प्राय: पछिल्ला चलचित्रले नायिका चाहिँ किन नयाँ खोजेका होलान् ?
यसमा अनौठो मान्नुपर्ने केही छैन । जे कुराले दर्शकलाई आकर्षित गर्छ, त्यही चिज खोजी गर्ने हो । नयाँ नायिकाको काम तथा अन्य पक्षले दर्शकलाई उत्सुकता जगाउने भएर यसो गरिएको हुनसक्छ ।
चलचित्रको नायक बन्ने अफर आए गर्नुहुन्छ ?
यो क्षेत्र मेरो हैन । चलचित्र गर्ने सोच पनि छैन । म दर्शकचाहिँ हुँ । दर्शक र शुभचिन्तकका हिसाबले आवश्यक सहयोग भने गर्नसक्छु ।
चलचित्रकर्मीलाई तपाईंको सन्देश ?
आफूले बनाउन लागेको चलचित्रलाई पहिला दर्शक भएर सोच्नुस् । त्यसका संवाद र घटनाहरू तपाईंलाई स्वाभाविक लाग्छन् कि लाग्दैनन् राम्ररी ध्यान दिनुस् । चलचित्र नाटकीय होइन, वास्तविक हुनुपर्छ । यी कुरामा राम्ररी ध्यान पुर्‍याएर बनाउने हो भने चलचित्र चल्छ जस्तो लाग्छ ।
प्रस्तुति : कुबेर गिरी/सौर्य दैनिक

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!