मन्त्रीको झण्डावाल गाडी हराएपछि प्रहरीमा हल्लीखल्ली
९ माघ, काठमाडौं । सानातिनो सरसामान हराउनु त स्वाभाविकै हो, तर, सोमबार साँझ बहालवाला मन्त्रीको झण्डावाल गाडी मन्त्री निवासबाटै हराएपछि केहीबेर उपत्यकाका तीनै जिल्लाका प्रहरीवीच खैलाबैला मच्चियो । आफ्नो झण्डावाल गाडी हराएको भन्दै बहालवाला मन्त्रीले नै प्रहरीलाई खबर गरेपछि गाडी भाग्न सक्ने नाकाहरुमा तत्कालै सेटबाट खबर गरियो ।
हराएको झण्डावाल गाडी रहेछ, सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवको । सो गाडी मन्त्री क्वार्टरबाटै हराएको प्रहरीलाई बताइएको थियो । आफूले चढ्दै आएको कालो रंगको सरकारी गाडी हराएको भन्दै मन्त्री यादवले सोमबार साँझ प्रहरीलाई खोजी गरिदिन भनेका थिए । हराएको सूचना आएको केही समयपछि मन्त्रीको झण्डासहितको गाडी प्रहरीले भक्तपुरको लोकन्थलीमा फेला पारेर मन्त्रिक्वाटर फर्काएको थियो ।मन्त्रीले प्रहरीलाई नै उजुरी गर्नुपर्ने गरी गाडी लिएर बेपत्ता हुने मानिसचाहिँ अरु कोही नभएर मन्त्रीकै ज्वाइँ रहेछन् । प्रहरीले उनलाई मातेर भिल्लु भएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
महन्थ ठाकुर नेतृत्वको तमलोपाका तर्फबाट समानुपातिक सभासद् बनेका यादव यतिबेला तमलोपा फुटाएर ‘तमलोपा नेपाल’का अध्यक्ष छन् । सर्लाही बसन्तपुर-५ का यादवले हालको बसोबास ललितपुरको टीकाथली-७ बताउने गरेका छन् । आफ्ना पाँच दाजुभाइ सगोलमा रहेकाले अंशवण्डा नभएको तर घर व्यवहार अलग रहेको बताउने मन्त्री यादवको सर्लाहीका विभिन्न गाविसमा २० विघा जग्गा रहेका छ । तर, हेटौडाको एक फाइनाइन्सबाट ५० हजार ऋण लिएर किनेको एउटा मोटर साइकलमात्रै साथमा रहेको मन्त्री यादवले मन्त्रालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।
Category: Image News
