उहिले पुन्टे दमाईं, अहिले गोक्ते काजी, रामचन्द्र अधिकारी

Admin | 08:01 |


काठमाडौं, ७ असोज । कुनैबेला पुन्टे दमाईंका नामले चिनिन्थे यी बाहुनका छोरा । अहिले चाहिँ जुँगामुठे गोप्ते काजी भनेर चिन्छन् सबैले । कलाकारिता यात्राको थालनीसँगै यस्ता विभिन्न चरित्रमार्फत आफूलाई दर्शकमाँझ चिनाइसकेका छन्, कलाकार रामचन्द्र अधिकारीले ।
दुई दशकअघि टेलिशृंखला टाढाको बस्तीमा गरेको पुन्टे दमाईंंको चरित्रपछि उनी कहिले भिलेनका रूपमा देखापरे त कहिले दर्शकलाई दिल खोलेर हाँस्न बाध्य पार्ने हास्य भूमिकामा । बढीजसो चाहिँ उनी हास्य चरित्रमै भिजे । अनि अहिले हास्यशृंखला मेरिबास्सैमा
गरेको गोप्ते काजीको भूमिकाबाट चर्चामा छन् उनी । काँचका पर्दामा जस्तो भूमिकामा देखिए पनि वास्तविक जिन्दगीमा चाहिँ उनी छन्, सादा व्यक्तित्व अनि त्यस्तै आचरणका । सबैका अगाडि शालीन शैलीले प्रस्तुत हुनु उनको गुण हो ।
०३६ सालमा भैरव अर्यालको लेखनमा तयार भएको नाटक सच्चाप्रेमबाट अभिनययात्रा प्रारम्भ गरेका अधिकारीले टाढाको बस्तीपछि पनि थुप्रै चलचित्र–टेलिचलचित्र नखेलेका होइनन् । तर, वर्षौं पछिसम्म पनि मान्छेले नबिर्सने भूमिका भने त्यही बनिराख्यो– पुन्टे दमाईं । यो भूमिका यतिसम्म चर्चित भयो कि चिनेका कतिपयले उनको नामै बिर्सिए र भन्न थालेछन्– पुन्टे दमाईं । ‘यो भूमिकालाई सबैले यति धेरै माया दिए,’ उनले भने, ‘मैले आफ्नो अभिनयमार्फत त्यो भूमिकालाई न्याय गर्न सकेछु, त्यसैले मलाई सबैले त्यो नामले बोलाए ।’
त्यसो त छुवाछूत प्रथाका कारण कतिपय ठाउँमा पुग्दा मानिसले उनलाई साँच्चिकै दलित सम्झिएछन् र भेदभाव पनि गरेछन् । ‘कति ठाउँमा त जनै नदेखाएसम्म विश्वासै गर्दैनथे । म बाहुन हुँ, कलाकारिताका क्रममा गरेको भूमिका मात्र हो पुन्टे दमाईं भनेर सम्झाउँथेँ,’ उनी अनुभव सुनाउँदै भन्छन्, ‘कति मान्छे त जति सम्झाए पनि विश्वासै गर्दैनथे, धेरै ठाउँमा भेदभाव सहनुपरेको छ ।’
पुन्टे दमाईंको भूमिका कल्पना मात्र नरहेको उनी बताउँछन् । ‘सानोमा मामाघर जाँदा जताततै फाटेको झुत्रो लुगा लगाउने, खुट्टामा जुत्तासमेत नभएका एक दलित देखेको थिएँ, उनैलाई हेरेर यो भूमिकाको आइडिया आयो’, उनले भने ।
सम्पन्न व्यक्तिको भूमिकाभन्दा यस्तै पीडित व्यक्तिको चरित्रमा अभिनय गर्दा निकै सन्तुष्टि मिल्ने गरेको उनको अनुभव छ । टेलिभिजनको सुरुआतसँगै ०४१ बाट डकुड्रामामार्फत सानो पर्दाको अभिनय थालेका अधिकारीले बसाईं, टाढाको बस्ती, चक्रव्यूह, दाइजो, दुई थोपा आँसु, तितेकरेली, घरबेटी बा, गुपचुप, गोर्खे लौरीदेखि मेरिबास्सैसम्म आइपुग्दा तीन दर्जन हाराहारीका टेलिशृंखलाको अनुभव सँगाली सकेका छन् ।
त्यसो त उनको ठूलो पर्दाको संलग्नता झनै बेजोड छ । त्यस्ता थुप्रै चलचित्र छन्, जसको सफलताको एउटा पक्ष रामचन्द्र बनेका छन् । वासुदेव, चिनो, मायाप्रीति, आँधीबेरी, प्रेमपिण्ड, दुई थोपा आँसु हुँदै मुना मदन, ठुल्दाइ, छविलाल कन्जुस छैन, धड्कन, पराई, मेरो जीवन साथी, तिमीले दिएको माया र सुटसम्म आइपुग्दा उनका चलचित्रको संख्या तीन सय नाघिसक्यो ।
चलचित्रबाट उनले ‘शम्भो’ तथा अरू थुप्रै परिचय पनि कमाएका हुन् एक बखत । तर त्यो परिचय त्यसै सेलाएर गयो, तर पुन्टे दमाईं अझै जीवित छ । अनि नयाँ परिचय पनि सशक्त भएर जाँदै छ, ‘गोप्ते काजी’का रूपमा ।
सीताराम कट्टेल र केदार घिमिरेले मेरिबास्सैमा अभिनय गराउने सिलसिलामा उनलाई काजी साप बनाएका रहेछन् । ‘पुरानो कलाकार भएकाले मलाई यो भूमिका दिएका हुन्’, अधिकारी सुनाउँछन्, ‘अब आफू परियो सधैँ सोझोसिधो अनि पीडितको भूमिका गरेको मान्छे, काजी बनेर गर्जन तीन–चार दिनै पो लाग्यो त । दु:ख पनि भयो ।’ तर, त्यही भूमिकाले प्रशंसा पाएपछि परिश्रमको फल पाएको अनुभूति उनलाई भएको छ । ‘पहिले पुन्टे दमाईं भन्थे, अहिले जहाँ गए पनि घोप्चे काजी भन्छन्’, उनी अनुभव सुनाउँछन्, ‘दर्शकले मलाई नोकरको रोलदेखि काजीसाहेबको भूमिकासम्म पनि स्वीकार्नुभएको छ, उहाँहरूप्रति आभारी छु ।’
#सौर्यादैनिक

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!