पार्टीभित्र नेतृत्वको खुट्टा तान्ने प्रवृत्ति बढ्यो- प्रचण्ड

Admin | 11:09 |

८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र अराजकता र गुट हावी भएको भन्दै कठोर र निर्मम आत्मसघंर्ष गर्नु पर्ने प्रस्ताव गर्नु भएको छ । पार्टीको आसन्न महाधिवेशनमा पेश गर्ने आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डले पार्टीमा देखिएको अराजकता र गुटबन्दीको मुख्य स्रोत व्यक्तिवादी अराजकता भएको बताउनुभएको हो ।
‘आज हाम्रो पार्टीमा देखिने अराजकता, अस्वस्थता र गुटबन्दीको मुख्य स्रोत हामी आफूभित्रै चिन्तन र व्यवहारमा विस्तारै पलाउँदै गएको व्यक्तिवादी अराजकतावाद हो’ प्रतिवेदनमा भनिएको छ-’आफ्नो पद र प्रतिष्ठाका लागि मात्र चिन्ता गर्नु, पार्टीभित्र घुर्की, धम्की र बार्गेनिङ गर्नु, आफ्नो र परिवारको सुरक्षा र सुविधाको ग्यारेन्टी खोज्नु, आफूभन्दा तल नोकरशाही बन्नु तथा आफूभन्दा माथि दलाली गर्नु, आलोचना सहन नसक्नु व्यक्तिवादी अराजकवादका उदाहरण हुन् ।’ गुटहरुको अन्त्य गर्नु पर्नेमा जोड दिँदै प्रचण्डले प्रतिवेदनमा भन्नुभएको छ-’दुश्मनको चौतर्फी घेरावन्दीमा रहेको सर्वहारा वर्गको पार्टीले आफैंभित्र रहेको व्यक्तिवादका विरुद्ध कठोर र निर्मम आत्मसंघर्ष र विचारधारात्मक संघर्ष नगरिकन क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सम्भव छैन ।’
पार्टीमा कुनै पद्दति छैन
प्रचण्डले आफ्नो प्रतिवेदनमा एमाओवादीमा कुनै पद्दति नरहेको र गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाएको उल्लेख गर्नु भएको छ । ‘पार्टीमा संगठनात्मक कुनै पद्दति छैन । व्यक्तिहरु कमिटी मातहत छैनन्, पार्टीका तल्लो कमिटीहरु र माथिल्लो कमिटीबीच सम्वन्ध छैन । न त सर्वसम्मत छ, न बहुमत-अल्पमत नै छ’ प्रतिवेदनमा भनिएको छ- ‘गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाइरहेको छ । यो कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त र विधिको ठाडो उल्लंघन हो । पार्टी निर्माण गर्न गुटको अन्त्य हुनै पर्छ ।’ आलोचनाको स्वतन्त्रता र कामकाजमा एकरुपताको मान्यता नै जनवादी केन्द्रीयताको मर्म भएको भन्दै प्रचण्डले आलोचनाको स्वतन्त्रतालाई अराजकतासम्म तन्काउने र कामकाजको एकरुपतालाई तानाशाहीको अर्थ लगाउने काम अवसरवाद भएको बताउनुभएको छ । पार्टीमा नेतृत्वको अवमूल्यन, बदनाम गर्ने र खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै प्रचण्डले नेतृत्वको आलोचना, उसलाई रुपान्तरण गर्न हुनुपर्ने न कि अन्तरध्वंश गर्न होइन भन्नुभएको छ । पार्टी कमिटीहरु अस्तव्यस्त रहेको र जसका कारण कार्यकार्ता परिचालन र जनपरिचालन शून्य जस्तो भएको प्रतिवेदनमा उल्लेख छ । पार्टीमा अनुशासनहीनता बढेको, जनवादी कार्यशैलीबाट विचलित भएको, आर्थिक प्रलोभन र अपारदर्शिता तथा समाजिक विकृति देखिन थालेको भन्दै प्रचण्डले आलोचना गर्नु भएको छ ।
अलपत्र कार्यकर्तालाई के गर्ने ?
एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा कार्यकर्ताको संरक्षण र व्यवस्थापनमा गम्भीर समस्या देखिएको स्वीकार गर्नु भएको छ । पूर्वजनमुक्ति सेनालाई अझै पार्टीमा संगठित गर्न नसकिएो भन्दै उहाँले भन्नु भएको छ-’हजारौं जनमुक्ति सेनाका कमाण्डर तथा सदस्यहरु आज पनि कमिटीविहीन र जिम्मेवारीविहीन छन् । यो अवस्था लामो समय राख्नु हुन्न ।’ प्रचण्डले पूर्वजनमुक्ति सेना, बाईसीएल र जनवर्गीग मोचर्चासहिको सहभागितामा फरक स्वरुपमा पार्टीको नेतृत्वमा स्थानीय सत्ता बनाउन प्रस्ताव गर्नु भएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!