म कलाकार, म किसान !!!!!
मध्य असार मेरो रोपाइँमै बित्यो । असार १५ हरेक वर्षजस्तो खेतमै मनाइयो । यसपालि भने मैले पहिलोपटक सामाजिक सञ्जालमा रोपाइँको फोटो राखेपछि धेरैले जिज्ञासा राखे, ‘के म किसान हुँ ?’
दुनियाँले चिन्ने मेरो बेग्लै पहिचान छ । सबैका निम्ति म गायक हुँ । नेपथ्य ब्यान्डको कलाकार । तर, म एक प्रतिबद्ध कृषक महिलाको नाति पनि हुँ भन्ने थोरैलाई थाहा छ।
मेरो बज्यै भाइमाया गुरुङको जीवन कृषिमै बितेको थियो । कास्कीकै पुम्दीभुम्दीस्थित कालाबाङमा अझै हाम्रो घर छ, जहाँ म जन्मेँ । त्यसै गाउँको फेदमा पर्छ, मूलपानी । मूलपानीको एउटा फराकिलो फाँटमा मेरा पुर्खाहरूले उहिलेदेखि खेतीपाती गर्दै आएका हुन् । अहिले त्यस फाँटको छेवैबाट सिद्धार्थ राजमार्ग गुज्रिएको छ । त्यो स्याङ्जा जाने बाटो हामी केटाकेटीमा पैदलै काट्थ्यौं । घरी बज्यैको औंला समातेर, घरी उहाँको बुइ चढेर यो बाटो काटिन्थ्यो।
जे होस्, बज्यै सक्रिय हुनुहुन्जेल हामी नियमित यो खेतमा आएर रोपाइँ गथ्र्यौं र कृषक परिवार हुनुको बेग्लै मज्जा लिन्थ्यौं । समय फेरियो । मेरी बज्यै बुढी हुँदै जानुभएपछि यो खेत एक्लिँदै गयो । मेरो बुवालाई खेतीपातीमा उत्तिको रुचि थिएन । हुँदाहुँदा काखैमा पानीको मुहान फुटेको यस्तो उर्वर फाँट वर्षौं विचलित र अव्यवस्थित भयो । अरूलाई जिम्मा दिएको यो फाँटमा उनीहरूले सबैतिर रोपाइँ गर्ने र यसलाई मलिलो बनाउँदै लैजानुको साटो थोरै जग्गामा, त्यो पनि एकदमै धेरै रासायनिक मल प्रयोग गरिदिन थाले । अर्कोतिर रोपाइँमा भन्दा उनीहरूको ध्यान यसले समेटेका बहुमूल्य रुखहरूतिर जान थाल्यो । तीमध्ये अधिकांश रुख मेरी बज्यैले हुर्काउनुभएको थियो । रुख रोप्न सजिलो छ, हुर्काउन धेरै गाह्रो । आज पनि तिनै रुखहरू हेरेर म मेरी बज्यैलाई सम्झना गर्छु । अझ मेरी बज्यै भन्नुहुन्थ्यो, ‘यीमध्ये कतिपय रुख तँ जन्मेको खुसीमा तेरी आमा र म मिलेर रोपेका हौं ।’ त्यतिबेलाका ५० भन्दा बढी बडहरका रुख अहिले पनि त्यहाँ देखिन्छन्।
समय बित्दै गयो । बज्यै र बाको देहावसान भइसकेको थियो । काठमाडौंमै रुमलिरहेको मैले चाहेर पनि जग्गाका निम्ति केही गर्नसक्ने अवस्था थिएन । यस्तोमा एक दिन मंसिरको महिना धेरै वर्षपछि म आमासँग धान लिन त्यहाँ गएँ । अधियाँ कमाउनेले हामीलाई केवल छ मुरी धान छुट्याएका रहेछन् । बज्यै हुँदा ३८ मुरीभन्दा बढी धान दिने त्यही खेतबाट उसले १२ मुरी मात्र उब्जाउन सकेको रहेछ।
त्यसपछि म सरासर पानीको मूल हेर्न पुगेँ । जुन पानी पिएर म हुर्केको हुँ त्यो मूलको अवस्था देखेर मलाई विरक्त लागेर आयो । अत्यन्तै अव्यवस्थित बनाइनुका साथै वरपरका रुखसमेत सबै काटिसकेका रहेछन्।
म मर्माहत भएँ । त्यो रुख काट्ने कस्तो विवेक होला?
त्यसपछि मैले आमालाई सोधेँ, ‘अब के गर्ने?’
हाम्रा गाउँघरमा काम गर्ने मान्छे पाउन छाडेको यथार्थले मलाई विकल्प देखाइरहेको थिएन।
‘कि अरूले जस्तै हामीले पनि यो खेत बाँझै छाड्नुपर्यो,’ मैले आमालाई स्पष्ट भनेँ, ‘होइन भने खेतबाट मेहनतअनुसार प्रतिफल आए पनि नआए पनि हामी आफैं यसमा होमिनुपर्यो।’
आमाले त्यतिबेला मलाई अर्को जानकारी पनि दिनुभयो । ‘यसै खेतको पराल र घाँस बेचेको पैसाले कुनैबेला तँलाई पढाएका हौं,’ उहाँको भनाइ थियो, ‘अब पैसाको कुरै नगर । तँ यसका निम्ति जे सक्छस् गर ।’ जग्गा बाँझो छाड्दा धर्तीले सराप्ने तर्क आमाको थियो।
मैले आफूलाई अब कृषकका रूपमा पनि उभ्याउनुपर्ने चुनौती आइपर्यो । म त्यसका निम्ति तयार भएँ।
बितेको तीन वर्षदेखि म आफैं त्यो जग्गामा गएर कतै रुख रोप्ने त कतै खेती गर्ने काम गर्दै आएको छु । ७१ रोपनी (खोरिया, खरवारी, खर्क र खेत गरेर) जग्गामा मैले गाई, भैंसी, बाख्रापालनलाई पनि निरन्तरता दिइरहेको छु । गाउँकै एकजना भाइ डिल्लीरामले यो सबका निम्ति मलाई सघाइरहेका छन् । म बढीमा १० दिनको अवधि राखेर जहिल्यै खेतमा पुग्छु । पहिले पोखरा गएपछि म सरासर घरतिर लाग्थेँ । हिजोआज चाहिँ पोखरा ओर्लनेबित्तिकै सोझै गोठ जाने गरेको छु । त्यसैको ओतमा खाने, पकाउने, सुत्ने गर्दै आएको छु । मेरो यस्तो जीवनबारे काठमाडौंका साथीहरू पत्याउनै अप्ठेरो मान्छन् । उनीहरूलाई लगेर सँगै गोठमा बसालेपछि बेग्लै मजा पाएको सुनाउने गरेका छन्।
इमानदारी पाराले खेती गरेर फाइदा चाहिँ नहुँदो रहेछ । खेत रोपेको पहिलो वर्ष मैले हिसाब निकाल्दा ७० हजार रुपैयाँ खर्च लागेको थियो । जबकि मंसिरमा धान काट्दा र हिसाब गर्दा ७१ हजार १ सय रुपैयाँ मात्र निस्क्यो । किरा नलागेको, असिना नपरेको अर्थात् राम्रो समयमा भएको खेतीको पनि नाफा जम्मा एक हजार एक सय रुपैयाँ हुँदो रहेछ । तै पनि मैले हिम्मत छाडेको छैन।
दुनियाँको निम्ति कलाकार रहँदा रहँदै म कृषक पनि हुँ । र, म यसमा खुसी छुँ ।
(कुंराकानीमा आधारित)
savar: m.setopati
Category: Enews, Farmer, Image News