किन बोल्दैनन् हाकु काले ?

Admin | 08:22 |


उखानै छ नि 'बोल्ने को पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन' । तर यो उखान सबैमा लागु हुन्छ भन्ने छैन । किनकी कति यहाँ नबोल्नेको पनि चामल बिकेको उदाहरण छन् । तिनै उदाहरण मध्येका एक पात्र हुन् हाकु काले अर्थात सौगात मल्ल ।

थिएटरको राम्रो अनुभवी कलाकार सौगात मल्ल फिल्ममा कागबेनीबाट प्रवेश गरेका हुन् । त्यसपछि उनले दाशढुंगा, के यो माया हो लगायतका केहि फिल्म गरे तर न उनी चले न फिल्म नै । एक्कासी लुट फिल्मले उनलाई शिखरको चुचुरोमा पुर्‍याईदियो । लुट फिल्ममा अभिनय गर्नु पूर्व फिल्म मेकरको नजरमा नपरेका सौगात अहिले सबैको पहिलो रोजाई बनेका छन् ।

निकै कम बोल्ने स्वाभावका सौगातका न चाकडी गर्न आउँछ न बोलेर आफूलाई बिकाउन । लुट चल्नु पूर्व उनी नचल्नुको एक कारण बोल्न नसक्नु पनि हो तर अहिले उनलाई बोलिरहन जरूरी पनि छैन । उनको पिठो नबोले पनि बिकिरहेको छ । 'मलाई बोल्न निकै डर लाग्छ । बोलेर समय खेर फाल्नु भन्दा अभिनयमा राम्रो कसरी गर्न सकिन्छ भनेर सोच्न मलाई मन पर्छ', सञ्चारमाध्यम होस् या कुनै कार्यक्रम आफू नबोल्नुको कारण खोल्दै सौगात भन्छन्, 'मलाई सानै उमेर देखि धेरै बोल्न मन लाग्दैन थियो । अहिले त कलाकार भएँ बोल्दा झन् बिग्रने डर हुन्छ । र, मलाई बोल्न भन्दा पनि काम गरेर देखाउन मन लाग्छ ।'

कलाकार भएपछि बोल्न नजान्दा गार्‍हो पर्ने कुरालाई उनले नबुझेका पनि हैनन् तर नबोलेर पनि चर्चामा आउन सकिन्छ भन्ने उदाहरण सौगात नै हुन् । कहिले काहिं कार्यक्रममा बोल्न लगाउँदा सौगात बोल्नै नपरे हुन्थ्यो भन्ने सोच्छन् । 'के बोल्ने के बोल्ने हुन्छ', सौगात भन्छन्, 'मलाई अभिनय गर्न भने जस्तो भुमिका पनि गर्न तयार हुन्छु तर यो बोल्ने काम गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।'

सौगातले पछिल्लो समय अभिनय गरेका सौर्य, छड्के, बधशाला लगायत रिलिजको क्रममा छन् भने अबको ५-६ महिना उनी नयाँ प्रोजेक्टका लागि व्यस्त छन् । लुट पछि लगातार फिल्म गरिरहेका सौगातलाई 'क्वान्टिटी' धेरै हुने डर लागेकोले फिल्मलाई कम गर्ने सोचमा छन् । उनी भन्छन्, 'थोरै बोल्छु थोरै गर्छु तर राम्रो दिने कोसिस गर्छु ।'
फिल्मीखबरबाट 

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!