नाताबीच हराएको महिला-पुरुष सम्बन्ध

Admin | 22:08 |

मुलुकमा घटिरहेका बलात्कारका श्रृंखलाबद्ध घटनाले निम्त्याएको उथलपुथलले महिला र पुरुषबीचको सम्बन्धको परिभाषामा  फेरि एक पटक बहस सिर्जना भएको छ। महिलालाई हेर्ने पुरुष दृष्टिकोण वा सामाजिक दृष्टिकोणका बारेमा भैरहेका यी  बहसले महिलालाई इतिहासदेखि नै दिइएको भूमिका वा उसमाथि निर्माण गरिएका बिम्बहरूलाई भत्काउनु पर्ने माग गरिरहेको  छ। 

विश्व इतिहासमा महिला र पुरुषबीचको सम्बन्ध सधैं लेखन, इतिहास, युद्ध, राजनीति र समाजको एउटा मुख्य विषय बन्दै  आएको छ। सम्भवतः युगैपिच्छे लेखिने साहित्य र दर्शनको मुख्य विषय महिला र पुरुषको सम्बन्ध नै हुनुपर्छ। समाजको  विकास क्रममा यसको चरित्रमा समेत क्रमिक रूपमा परिवर्तन हुँदै आएको छ। तै पनि महिला र पुरुषबीचको सम्बन्धको  सारभूत कुरा परिवर्तन भएको छैन। महिला र पुरुषबीच कस्तो सम्बन्ध रहनुपर्छ, वा के कस्ता विशेषता भएका सम्बन्धहरू  हुन्छन् भन्ने प्रश्नमा आज पनि उत्तिकै बहस गर्न सकिन्छ।

यौन, प्रेम, आत्मीयता, माया आदि केही पक्ष हुन जसले महिला र पुरुषको सम्बन्धलाई निर्देशित गर्छन्। समाजमा महिलाहरू लाई जन्मदेखि नै फरक खालको सामाजिकीकरणतर्फ धकेलिएको हुन्छ, जसले गर्दा उनीहरूमा एउटा जटिल मनोविज्ञानको  जन्म हुन्छ। यो मनोविज्ञानले पुरुषलाई संरक्षकका रूपमा तर अविश्वासी संरक्षकका रूपमा हेरेको हुन्छ। कतिपय अवस्थामा यो  सामाजिकीकरणका विरुद्ध हुकिर्ने मान्यताहरूले महिला र पुरुषको सम्बन्धलाई तेस्रो आँखाले हेर्नुपर्ने कुरा अघि सारेका हुन्छन्।  महिला र पुरुषका बीचमा रगतको वा यौनको मात्र सम्बन्ध हुँदैन, महिला र पुरुषका बीचमा कतिपय अवस्थामा भावनाको  समेत सम्बन्ध हुन्छ। भावना र आत्मीयताका लागि यौन र रक्तसम्बन्ध नै हुनुपर्छ भन्ने हुँदैन। यौन र रगतको सम्बन्धबाहेक  पनि एउटा आदर्श सम्बन्ध हुन सक्छ। यो सम्बन्ध पनि प्रेमी-प्रेमीका, श्रीमान्-श्रीमती, छोरा- आमा जस्तै अत्यन्तै अनौपचारिक  हुनसक्छ। यो सम्बन्ध वासनारहित हुनसक्छ भन्ने कुरा संसारमा स्थापित नभएको होइन र पनि मानिसहरू त्यसलाई पचाउन  सक्दैनन् र यस्ता आदर्श सम्बन्धको दिशामा हिँड्ने, महिला र पुरुषबीचको सम्बन्धलाई वासनाभन्दा फरकरुपमा हेर्न खोज्नेह रूको नियती पीडाबाहेक अरू केही हुँदैन।

मान्छे आफ्नो आदर्शले थिचिएको हुन्छ र आदर्शले मान्छेलाई पीडा दिन्छ। समाजका मान्यताहरूका विरुद्ध आदर्शहरूका  आधारमा बाँच्न खोजियो भने त्यसको नियति पीडा र दुःख बाहेक अरू केही हुँदैन। आफूले सोचेको कुरा आफ्नो मनभित्र मात्र  हुन्छ, आफूले चाहेको कुरा आफ्नो मनभित्रै हुन्छ। अर्को व्यक्तिले गर्ने आफ्नो मूल्यांकन उसका लागि सही हुनसक्ला तर  आफ्ना लागि हरेक व्यक्तिको मूल्यांकन उसको स्वमूल्यांकन नै हो। अरूले मान्छेको मन अध्ययन गर्न सक्दैनन्। हो, कतिपय  अवस्थामा मान्छेलाई बुझ्न सकिन्छ, उसका सम्वेदनाहरूलाई बुझ्न सकिन्छ तर समग्रमा मान्छेलाई बुझ्नु त्यति सजिलो काम  होइन। त्यसैले मानिसहरूले महिलाको जटिल मनोविज्ञान बुझ्न सकिँदैन भनेका हुन सक्छन्। यद्यपि महिलाको यो मनोविज्ञान  समाजले निर्माण गरेको हो र पुरुषको मनोविज्ञान पनि समाजले नै निर्धारण गर्छ।

एउटा केटा कुनै केटीको काखमा आनन्दले पल्टिन सक्छ तर के त्यसका लागि त्यहाँ रगतको वा यौनकै नाता आवश्यक छ।  के फरक लिंगीहरूबीचमा रगतको मात्र नाता हुन्छ। के कुनै युवकले कुनै युवतीको आँसु पुछ्न, उसँग सुख-दुःखका कुरा गर्न  कुनै न कुनै नाताको सहारा लिनुपर्छ ? के नाता अनिवार्य हो सम्बन्धका लागि ? के महिला र पुरुषबीचका प्रत्येक सम्बन्धमा  बासना अनिवार्य हुन्छ ? वासनारहित सम्बन्ध, जसमा मान्छेले मान्छेलाई मान्छेका रुपमा व्यवहार गर्न सकोस्। एक युवक  अर्को युवकको काँधमा टाउको राखेर सुक्कसुक्क रुन सक्छ। एक युवक अर्को युवकसँग तालमा ताल मिलाएर नाच्न सक्छ, सँगै हिँड्न सक्छ, सँगै बस्न सक्छ तर एक युवकले अर्की युवतीसँग त्यसरी व्यवहार गर्न के त्यहाँ नाताको अझ त्यो पनि रगत  वा यौनको अनिवार्यता हुन्छ ?

यौन मनोविज्ञानको जटिलतालाई बुझ्न नसक्दा र मान्छेको जैविक तथा भावनात्मक शारीरिक बनावटलाई सूक्ष्मरूपमा बुझ्न  नखोज्दा यस्ता प्रत्येक प्रकारका सम्बन्ध आदिकालदेखि नै आलोच्य बन्दै आएका छन्। पुरुष पुरुषबीच मित्रताको सीमा हुँदैन  तर महिला र पुरुषबीच एउटा सीमा हुनैपर्छ। एउटा औपचारिकता अनिवार्य हुनैपर्छ। यो कुरा समाजले निर्देशित गरेको छ।  अधिकांश व्यक्तिले यही मान्यताका आधारमा महिला र पुरुषका बीचका सम्बन्धलाई हेरेका हुन्छन्। मान्छेले मान्छेलाई  विश्वासमा लिन नाताको आवश्यकता पर्दैन। यदि नाता नै चाहिन्छ भने साथी पनि त नाता हो। साथीको नाता अन्य नाता  जस्तै किन वैध र बलियो हुन सक्दैन ?

महिलाहरूमा देखिने मनौवैज्ञानिक जटिलतामध्ये इन्फेरियर कम्लेक्सीटिले उनलाई सधैं अवचेतनरुपमा असुरक्षाको भावनामा  डुबाएको हुन्छ। उनी आफू असुरक्षति भएको अनुभूति त गर्दिनन् तर पनि उनको मनोविज्ञानले सधैं पुरुषलाई संकाको आँखाले  हेरेको हुन्छ। किनभने जन्मदेखि नै सामाजिकीकरणको प्रक्रियामा उनले पुरुषलाई सधैं स्वतन्त्र, स्वच्छन्द र शक्तिसम्पन्न रुपमा  देख्दै आएकी हुन्छिन्। जसको असर उनको मनोविज्ञानमा परेको हुन्छ र उनले अन्य महिलाहरूलाई ईष्यालु आँखाले हेर्न  थाल्छिन्। कतिपय अवस्थामा उनको मनमा दोहोरो संवाद चल्छ। अव्यक्त, अवचेतना मनोवैज्ञानिक असुरक्षाले उनलाई शंकामा  डुबाउँछ भने सचेतन मन तर्कशील बन्न खोज्छ। जित्छ प्रायः अवचेतनताले नै। त्यसैले कतिपय परिवारमा पुरुष सदस्य  जतिसुकै सही भए पनि महिलाहरूले कतिपय अवस्थामा अन्य युवतीहरूसँग पुरुष सदस्यको व्यवहारलाई लिएर शंका गरेको  पाइन्छ। यो शंकाका लागि तत्कालमा महिला जिम्मेवार देखिए पनि उनको यो मनोविज्ञान निर्माण गर्न भने पुरुष र अझ पुरु षले बनाएको समाज नै जिम्मेवार हुन्छ। सचेतताको दाबी गर्ने महिलाका लागि भने उनले आफ्ना यी जटिल शंकाशील मनो विज्ञानलाई हटाउन सक्दिनन् भने त्यतिबेला उनी आफैं गलत हुन्छिन्।

त्यसैले कुनै व्यक्तिले महिला र पुरुषको सम्बन्धलाई कसरी हेर्छ भन्ने कुरालाई अमूक व्यक्तिको विश्लेषण गलत वा सही भनेर  भन्नु पनि गलत हो। किनभने यो निकै ठूलो सैद्धान्तिक प्रश्न हो जसले सिंगो समाजको विकासलाई अघि सारेको हुन्छ। हामीले  यसलाई मान्छे, समाज, समाजका मान्यता, उसको समाजमा व्यक्तिको सामाजिकीकरणको प्रक्रिया तथा व्यक्तिको मनोविज्ञान  निर्माणमा यी सबै पक्षले खेल्ने भूमिकाका आधारमा हेर्नुपर्छ।

सारमा, महिला र पुरुषबीचको सम्बन्धलाई परिभाषति गर्ने दृष्टिकोण नै फेरिनुपर्छ। महिला वा पुरुषका बीचमा जति नजिकको,  जति आत्मीय, जति गहन सम्बन्ध प्रेमी-प्रेमिका, बुवाछोरी, श्रीमान्-श्रीमतीका बीचमा हुन्छ, त्यत्तिकै गहन त्यत्तिकै आत्मीय  सम्बन्ध साथीहरूबीच पनि हुन सक्छ। हो, यहाँ एउटा कुरा हुँदैन, त्यो हो दैहिक वा यौनिक वा वासनात्मक सम्बन्ध। यो  आदर्श सम्बन्ध हुनसक्छ। उच्च आदर्शमय...। के हामी यो आदर्श सम्बन्धलाई आत्मसात गर्नेतर्फ अघि बढ्न सकौंला ?

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!