छोरीको किस सिन मैले पनि इन्जोए गरें : शिब रेग्मी

Admin | 07:01 |


आफन्त फिल्म निर्देशनसँगै रजतपटमा छिरेका निर्देशक शिब रेग्मीले आफ्नो करियरमा थुप्रै हिट फिल्म दिए । कति फिल्मले १०० औं दिन मनाए भने कति फिल्मले ५१ औं दिन मनाए । कलाकार मात्र हैन निर्माताहरू पनि एक पटक शिब रेग्मीसँग काम गर्न पाए अहोभाग्य ठान्ने गर्थे । यिनले थुप्रै कलाकारलाई जन्माए भने थुप्रै निर्मातालाई खुसी बनाए । यिनै निर्देशक पछिल्लो केहि बर्ष यता भने सफल हुन सकेनन् । के कारणले शिब सफल हुन सकेनन् त ? यो बिषय र उनले निर्देशन गरेको पछिल्लो फिल्म 'सो सिम्पल' को बिषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंश -

सो सिम्पल कस्तो फिल्म हो ?
प्रेमकथामा मैले धेरै फिल्म बनाएँ तर किशोर अवस्थाको बिशुद्ध प्रेमकथामा पहिलो पटक सो सिम्पल बनाएको छु । पहिलो पटक कोमल हृदयबाट निस्केको किशोर अवस्थाको स्वच्छ प्रेमको कथामा बुनिएको फिल्म हो 'सो सिम्पल' । यसले नौलो र मिठो अनुभुती दिन्छ भने किशोर अवस्था पार गरेका दर्शकहरूको त्यो बेलाको अमूल्य क्षणको सम्झना गराउँछ । रमाईलो कुरा के छ भने मेरा अघिल्ला फिल्म हुने गरेका लामो संवाद यो फिल्ममा छैन । छोटो मिठो र निकै कम संवाद यो फिल्ममा प्रयोग गरिएको छ । संवादबाट भन्दा पनि कलाकारको हाउभाउबाट प्रेमको अनुभुती गराउने प्रयास गरिएको छ जसमा म आफैंले पनि निकै 'इन्जोय' गरें ।'

पुराना कलाकारसँग काम गरिरहेको अवस्थामा बिल्कुलै नयाँ कलाकारसँग काम गर्नुको कारण ?
यसअघिका मेरा फिल्ममा एउटा सम्म नयाँ कलाकार हुन्थे तर यसमा दुबै जना मुख्य कलाकार नयाँ छन् । पहिलो प्रेमको अनुभुति निकाल्न पुराना कलाकारबाट सम्भव थिएन । किनकी उनीहरूको प्रेम प्रसङ्गलाई धेरै पटक दर्शकले हेरिसकेका छन् । त्यसैले दर्शकलाई नयाँ स्वाद दिन नयाँ कलाकारको आवश्यकता देखिएको हो ।

आफ्नै छोरीलाई आफैले बनाएको फिल्ममा पहिलो पटक अभिनय गराउनुको कारण ?
मलाई फिल्म भन्दा बाहिर र फिल्म भित्रकै साथीभाईहरूले भन्ने गर्थे यो क्षेत्र निकै बदनाम छ छोरीलाई झुक्केर पनि नल्याउनु है । हाम्रो समाजमा छोरालाई हिरो बनाउन खोजे पनि छोरीलाई हिरोईन बनाउन नखोजेको पाईन्छ । तर मैले त्यस्तो सोचिन । म यत्रो बर्ष यो क्षेत्रमा लाग्दा मेरो नजरले फिल्म उधोगलाई सधैं राम्रो देख्छ भने छोरीलाई किन नल्याउने त भन्ने सोचेर ल्याएको हो । मेरो छोरीको पनि यो क्षेत्रमा लाग्ने इच्छा भएकाले र मैले उ भित्र अभिनयको क्षमता देखेकाले लाएको हो । अर्को कुरा निर्माता केशब भट्टराई जीले पनि भावनालाई आफ्नै फिल्मबाट डेब्यू गराउने इच्छा देखाउनु भयो अनि फिल्मको स्क्रिप्टमा पनि उ सुहाउने भएकाले अर्को विकल्प खोजेनौं ।

अरू कलाकारसँग र आफ्नै छोरीसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
बाल्यकाल देखि नै भावनाको हरेक आनीबानी मैले बुझेको छु जसले गर्दा अरूसँग भन्दा उसँग काम गर्न सहज भयो । उसको साना-साना कुराहरूलाई मैले पर्दामा उतार्न सकेको पनि छु । मलाई नजिकबाट बुझेकाले उसलाई पनि काम गर्न खासै गार्‍हो भएन । अरू नयाँ कलाकारसँग भन्दा आफ्नी छोरीसँग काम गर्न सहज भयो । सबैभन्दा रमाईलो कुरा त अहिलेसम्म कुनै कलाकारलाई त्यो किस सिन गराएको छैन जुन मैले यो फिल्ममा आफ्नै छोरीलाई गर्न लगाएको छु । तर त्यो किस सिनलाई मैले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छु । सो सिन खिच्दा भावना र हिरो प्रमोद भारद्धाजलाई त क्यारेक्टरमा डुबाएँ नै म आफू पनि उनीहरूको क्यारेक्टरमा डुबें र एक पटक आफ्नो फ्ल्यास व्याकमा पनि पुगें ।

छोरीले गरेको किस हेरेर आफ्नो १६ बर्षे जवानीलाई सम्झिनु भयो हैन त ?
एउटा निर्देशक कलाकारसँगै उसको क्यारेक्टरमा भिज्न सक्नुपर्छ । कलाकारसँग घुलमिल हुन सक्यो र क्यारेक्टरमा निर्देशक पनि डुब्यो भने त्यसैले दिने रिजल्ट राम्रो आउँछ । त्यसैले म पनि एक पटक १६ बर्षको उमेरमा पुग्ने मौका पाएँ र छोरीको किस सिनमा मैले पनि इन्जोए गरें । अर्को कुरा सो सिम्पल फिल्मले मलाई अर्को जन्म दिएको छ । भावना र प्रमोदको अनुहारमा प्रेमको भाव निस्कदाँ म आफैं पनि रोमान्चित भएँ । आफन्त गर्दा म भित्र जुन किसिमको जोश जाँगर थियो अहिले त्यो जोश जाँगर अझ बढेर आएको छ । साँच्चिकै भन्नु पर्दा ४८ बर्षको यो उमेरमा पनि मैले १६ बर्षको ठिटोको मिठो अनुभुती गर्ने मौका पाएँ ।

कलाकारलाई रूवाउने शिब रेग्मी अब ग्ल्यामर बन्दै हो त ?
हामी समयको माग अनुसार चल्नुपर्छ । अहिलेको परिप्रेक्षमा युवाहरूको ध्यान केन्द्रित गर्न उनीहरूको मनोभावलाई बुझ्नु पर्छ । फिल्ममा किस गर्नु, छोटो लुगा लगाउनु, सेक्स सिम्बोलका कुराहरू राख्नु नराम्रो हैन तर छोटो लुगा लगाएर छोटो मन बोकेर फिल्ममा आफूलाई प्रस्तुत गर्न हुँदैन । छोटो मन हुने बित्तिककै त्यसलाई विकृतीको रूपमा हेरिन्छ । हुनत नकच्चरोको औषधी हुँदैन तर पनि भल्गारिटीलाई सकेसम्म रोक्नुपर्छ । युवाहरूलाई आकर्षित गर्ने बाहानामा फिल्ममा विकृती आउन दिन हुँदैन । हामी हाम्रो समाजलाई ध्यानमा राखेर फिल्म बनाउनु पर्छ जुन मेरो फिल्ममा देखिन्छ । त्यसैले म ग्ल्यामर बन्छु तर भल्गर बन्दिन ।

सो सिम्पलका यि दुई नयाँ अनुहार भावना र प्रमोदको भबिष्य कस्तो देख्नु भएको छ ?

मेरो फिल्ममा खेलेको भनेर भनेको हैन, प्रमोद भोलीको सफल कलाकार हुनेमा म बिश्वस्त छु । उसको काम गर्ने शैली निकै राम्रो छ । सफलताको भारीले उसलाई अहम् बनाएन भने शत प्रतिशत उ फिल्म उधोगमा लामो समय दौडिने घोडा बन्ने छ । उ नबोले पनि उसको 'बडी ल्याङ्ग्वेज' बोल्छ जुन एउटा कलाकारमा हुनुपर्ने गुण पनि हो । भावनाको कुरा गर्दा उसले आफूलाई सुधार गर्दै गए उसको भबिष्य पनि राम्रो छ तर उसले अहिले आफ्नो अध्ययनलाई बढि जोड दिनुपर्छ ।

शिब रेग्मी नयाँ कलाकार र युवापुस्ता दर्शकलाई बुझ्न नसक्ने निर्देशक भनेर आरोप लागेका बेला सो सिम्पलले त्यो आरोपलाई कत्तिको मेटाउने प्रयास गर्ला ?

जुन मलाई सजिलो लाग्छ म त्यहि काम गर्ने हो । तर कहिले काहिं नयाँ स्वाद आफूले चाखे पछि अरू थुप्रै स्वादहरू मिठा हुन्छन् भन्ने बुझिने रहेछ । मैले सो सिम्पलमा नयाँ स्वाद चाख्ने मौका पाएँ जुन निकै मिठो पनि छ र दर्शकलाई पनि यो फिल्मको स्वाद मिठो लाग्नेछ भन्ने बिश्वास छ । यहि फिल्मबाट अब दर्शकले शिब रेग्मीलाई नयाँ स्वरूपमा पाउनु हुनेछ । यहि फिल्मले शिब रेग्मीको अर्को परिचय दिनेछ, अहिलेको पुस्तालाई बुझेर जानेछ र यो समयको माग पनि हो । म अहिलेको समयसँग घुलमिल हुँदै जानेछु । तर, केहि आफ्ना सिग्नेचर अर्थात आफ्ना पनहरूलाई मैले छोड्न सक्दिन ।

पछिल्ला समयमा तपाईंले निर्देशन गरेका फिल्महरू त फ्लप नै भए नि ! कारण के थियो ?
फिल्म नचल्नुको पहिलो दोष निर्देशकलाई नै जान्छ र मैले त्यो दोषलाई स्विकार गर्नैपर्छ । हो, मेरा पछिल्ला फिल्महरू चलेनन् सायद मैले त्यो बेलाको समयानुकुललाई बुझ्न सकिन र फिल्म मात्र हैन म नै फ्लप भएँ । मेरो होमवर्क कम भएको होला र म अलि हतार गरें होला । म समयसँग हिड्न जानिन होला । समय अनुसार अनुभुतीका शैलीहरू परिवर्तन हुँदै जान्छन् । अब म ति परिवर्तित शैलीलाई बुझ्ने कोसिस गरेको छु । आफ्ना पटकथा, संवाद र प्रस्तुतीको शैलीलाई परिवर्तन गरेको छु । अहिलेको समय अनुसार चल्ने कोसिस गरेको छु । अब शिब रेग्मी नयाँ स्वरूपमा पुन: यो क्षेत्रमा जन्मिदै छ ।

सो सिम्पलबाट कत्तिको आशावादी हुनुहुन्छ ?
म त हरेक फिल्मबाट आशावादी हुन्छु । तर यो फिल्मबाट अन्य फिल्मभन्दा अलि बढि नै आशावादी छु । किनकी यो शिब रेग्मीको नौलो फिल्म हो । यसमा मेरो कथा, प्रस्तुत गर्ने शैली, नयाँ केटाकेटीको नयाँ स्वाद, बिशुद्ध प्रेमकथा, गीतसंगीतबाट दर्शक सन्तुष्ट हुनुहुन्छ भन्ने लागेको छ ।


# FilmyKhabar

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!