रिद्धीसिद्धी सिङ्गिङ आइकन उत्कृष्ट प्रतिभा खोजी गर्ने वहाना करोडौं रुपैया लुटेर फरार
देशका उत्कृष्ट प्रतिभा खोज्ने नाममा समेत ठगि भयो । एउटा उदाहरण हो, रिद्धीसिद्धी सिङ्गिङ आइकन । जसले उत्कृष्ट प्रतिभा खोजी गर्ने वहाना करोडौं रुपैया लुटेर फरार भएपछि प्रतिस्पर्धीहरू निरास छन् । लाखौं रुपैया खर्च हुनुका साथै पढाईमा समेत असर परेको उनीहरू बताउँछन् । ती स्पर्धीहरूमध्ये एक होनाहार प्रतिभा हुन्, मोरङ उर्लाबारी – ४ का निसान भट्टराई, जसलाई धेरैले पहिलो सिङ्गिङ आइकनको दाबेबार मानेका थिए । आयोजक फरार भई कार्यक्रम नै रोकिएपछि उनी दुःखी बनेकाछन् । रित्तो आश बोकेर भएपनि संगीत साधनामा लागिरहने निसान प्रण गर्छन् ।
स्थानीय बाल प्रतिभा निसानको कर्णप्रिय स्वरहरू टेलिभिजनका पर्दाहरूमा देख्दा कार्यक्रम हेरर बस्ने मोरङवासीले मनोरञ्जन मात्र लिएनन्, हाम्रो ठाउँको भनेर गौरव गरी सक्दो सहयोग गरेका थिए । उनै बाल प्रतिभा निसान भट्टराईसँग हाम्रा सहकर्मी तेजन खड्काले गरेको कुराकानी -
‘सिङ्गिङ आइकन’को आयोजक त फरार भएछन् नि ?
आयोजक फरार हुँदा एकदमै दुःख लागेको छ । बुवाको पैसा पनि धेरै खर्च भयो । अनि मेरो पढाईलाई समेत असर पर्यो। यी सबै कुरालाई एउटा सपना सम्झेर बिर्सौंला । तर, मलाई जिताउन भोट खर्चिनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई आभार प्रकट गर्दै सधैं म तपाईंहरूप्रति ऋणी बनेको बताउन चाहन्छु । मलाई माफ गरिदिनु होला तपाईंहरूले सोचेको कुरा मैले पूरा गर्न सकिनँ ।
आइकन बन्न कति पापड बेल्नुभयो ?
कार्यक्रम सुरु भएदेखि टप ६ सम्म आईपुग्दा मेरो घरपरिवारको ५ लाख रूपैयाँभन्दा बढी खर्च भयो । आयोजकले केही सहयोग गरेन ।
आयोजक फरार हुन्छ जस्तो त लागेको थिएनन नि ?
मैले त्यस्तो त कल्पनासमेत गरेको थिइनँ । मेरो मात्र होइन, मसँगै मेरा सहपाठीहरूको सोच र पीडा उस्तै हो । राज्यले यस्ता ठगहरूलाई कारबाही गर्नैपर्छ । के बोल्नु यो विषयमा म आफैं दोधारमा छु ।
अन्य कार्यक्रमहरु पनि थिए, सिङ्गिङ आइकनमै भाग लिनुको कारण ?
त्यसबेला ‘सिङ्गिङ स्टार’ को पनि छनौट कार्यक्रम हुँदैथियो, मैले भाग लिएको कार्यक्रमका निर्णायकहरू गायिका अन्जु पन्त र शिव परियारले गर्दा नै मेरो मन सिङ्गिङ आइकन कार्यक्रमतर्फ खिचिएको हो ।
फेरि यस्तै किसिमका कार्यक्रम शुरु भए भने भाग लिने हो ?
नलिने अब त……….। सिङ्गिङ आइकनले गर्दा नवप्रतिभा पहिचान गराउन लागिपर्नेहरू सबैलाई असर पुर्याएको छ । साँच्चै भन्ने हो भने मलाई रिआलिटी शोको विश्वास लाग्न छोडिसक्यो ।
अहिले तपाईका सर्मथकहरुको प्रतिक्रिया कस्तो छ ?
सबैले कार्यक्रमबारे चासो र चिन्ता प्रकट गरिरहनुहुन्छ । बेलिबिस्तार लगाउनुहुन्छ । तिमी नै कार्यक्रमको ‘फस्ट’ हुनेथियौ भन्नुहुन्छ, यसो भन्दा मेरो मन साह्रै रुन्छ । कार्यक्रम बन्द भएपछि व्यक्तिगतरुपमा मप्रति दुःख प्रकट गर्ने गरेको धेरैबाट पाएको छु ।
आयोजक त फरार भए, निर्णायकहरुको प्रतिक्रिया कस्तो छ ?
जजहरूले सानै उमेरमा यति धेरै प्रगति गरेको छौ भन्दै मेरो प्रतिभाको उच्च मुल्याङ्कन गर्नुहुन्छ । प्रायः सबैले हरेस नखाउ तिम्रो संगीत क्षेत्रमा राम्रो भविष्य छ भनेर सरसल्लाह र हौसला दिनुहुन्छ ।
तपाईलाई आफू नै आइकन बन्ने सम्भावना कतिको महशुस थियो ?
जजबाट राम्रो प्रतिक्रिया पाएको थिएँ । एसएमएस भोटबाट चाँही भन्न सकिँदैन थियो । कहिले धेरै एसएमएस मेरो पक्षमा आउँथ्यो त कहिले न्यून पनि आउँथ्यो । यसैले सम्भावना चाँही जिवितै थियो ।
आफूबाहेक अर्को प्रतिस्पर्धीलाई रोज्नुपर्दा कसको आइकन हुने सम्भावना देख्नुभएको थियो नि ?
मोरङ पथरीका दाइ बिनोद राईको सबैभन्दा बढी एसएमएस भोट आउने गरेको थियो । उहाँले जजबाट पनि राम्रै प्रतिक्रिया पाउनुहुन्थ्यो । उहाँलाई ‘गेस’ गरेको थिए ।
प्रतियोगिता अधुरै भएपनि सुखद् पक्षचाँही केलाई मान्नुहुन्छ ?
गायनको माध्यमले पूर्व क्षेत्र प्रतिभाको उर्भरभूमि रहेछ जस्तो लाग्छ । कार्यक्रमबाटै स्वरमा थप निखारता ल्याएँ । धेरै ज्ञान र सीपको विकास भयो । मेरो कार्यक्रम हेरेर गीत रेकर्ड गराउन सरोज केसी दाइले मलाई अवसर दिनुभयो । चाँडै बजारमा आउँदैछ रे । यी र यस्तै सुखद् अनुभव हुन् ।
सांगीतिक क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
म अध्यनरत उर्लाबारीस्थित भृकुटी मोडल एकाडेमीमा यूकेजीमा पढ्दादेखि नै गीत गाउने गर्थें । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि सधैं भाग लिने गर्दथें । विद्यालयका ‘म्युजिक टिचर’ विशाल राईले संगीत साधना सिकाएपछि संगीत क्षेत्रमा प्रवेश गरेको हुँ ।
संगीतिक क्षेत्र नै किन रोज्नुभयो ?
अतिरिक्त क्रियाकलापहरूमा गीत गाउँदा विद्यालयमा पुरस्कृत हुने गर्थें । शिक्षकहरूले पनि निशानले राम्रो गीत गाउछ भन्नु हुन्थ्यो । अग्रजहरूले दिएको हौसला नै मेरो प्रेरणा बनेकाले संगीत क्षेत्रमा जाने रहर पलाएको हो । र, गर्दै जाँदा संगीत क्षेत्रमा प्रगति हुँदै गरेकाले पनि हो ।
दिनचर्या कसरी बिताइरहनुभएको छ ?
बिहान, संगीत साधनाका लागि बिहानी कला केन्द्र धाउँछु । त्यसपछि विद्यालय जानु त छ नै । र, सांगीतिक कार्यक्रमहरूमा निमन्त्रणा आयो भने आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेर दिनहरू बिताइरहेको छु ।
घरपरिवारबाट कतिको सहयोग पाउनुभएको छ ?
परिवारबाट एकदमै सहयोग पाएको छु । बुवाले पनि तेरो भविष्य संगीतमै छ भन्नुहुन्छ । र, सक्दो सहयोग गर्ने बताउनुभएको छ, गर्दै पनि हुनुहुन्छ ।
र, अन्त्यमा ……….?
आम मेरा शुभचिन्तकहरूलाई यसरी नै मेरा हर क्षेत्रमा सहयोग पुर्याउनुहुन अनुरोध गर्दै सिङ्गिङ आइकनमा तपाईहरूको इच्छा पूरा नभएकोमा क्षमा माग्दै मलाई भोट गरी जिताउन सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्दछु । म निरन्तर संगीत क्षेत्रमा साधना गरिरहेको छु र यस क्षेत्रको नाम राख्न सधैं तत्पर हुनेछु ।
पुर्बेली टाईम्स